Skip to main content

Posts

Featured Post

कविता: ब्युँझदाको अवसान

देख्दादेख्दै यो युगले बाँचिरहेको अँध्यारो सुन्दासुन्दै देशले हिँडिरहेको ओरालोको व्यथा म बसिरहें आफ्नै गुप्तकोठामा बुनिरहेँ युगिन सपनाको स्वेटर उधारेर गलत बाटाहरु,सिउँरिएर नयाँ गाथाहरु सोचेँ आज भन्दा भोलि राम्रो हुन्छ भोलिभन्दा उज्ज्वल पर्सि.! भोग्दाभोग्दै गरिबिको नाङ्गो हबिगत तात्दातात्दै मन भित्रको रगत म बसिरहेँ आफ्नै चिसो ओतमुनी चिसो ओदानमा एक निमेष उज्यालो सल्काएर मुखलाई भोकका चिसा भातका डल्ला कोचाइदिएर सोचेँ, केही नहुनेको कोहि हुन्छ कोहि नहुनेको केही हुन्छ ! अप्ठ्यारा बिस्तारामा देखेको सपना पनि अप्ठ्यारै हुन्छ। यो खण्डहरमा बाँचिरहेको भोलिको भोको पुजारीलाई कहिले बाढी आएर बगाइदिन्छ कहिले पहिरो आएर पुरिदिन्छ र कहिले खाँवो थर्थराएर ब्युँझाइदिन्छ! र यसै त्रासमा कति अनिदा रातहरु बिहान भए, कति घरबिहिन भए,कतिका ज्यान गए रगत उम्लिए,परिवर्तनका उल्काहरु खस्न थाले नयाँ घरहरु बन्ने भए,नयाँ गोरेटा बन्ने भए मान्छेहरु उज्यालिए। लाग्यो सबैकुरा नयाँ हुने भए लाग्यो अब फेरिन्छ केही कुरा, अब देखिन्छ केही नयाँ कुरा! आकाशमा परिवर्तनका चङ्गाहरु उड्छन् मेरो देश माथिको कालो ...
Recent posts

गजल

सरकारमा सधैँ किन जो भ्रष्ट छन् ती हुनुपर्छ जनता सधैँ निमुखा,सरकार सामन्ती हुनुपर्छ जानेबेला तिमीलाई एकदिन देखाएरै जान्छु भन्थी घरकै बाटोमा बजेको बाजा,उसको जन्ती हुनुपर्छ किसान हुँ भन्दै सदन पुगेकालाई उहिल्यै चिन्नुपर्थ्यो किसानको हातमा बन्दुक होइन, कोदाली खन्ती हुनुपर्छ

गजल (मान्छे छैनन् गाउँमा)

गजल ........... बाँझै रह्यो खेतबारी, गर्ने मान्छे छैनन् गाउँमा मलामीको कुरै छोडौँ मर्ने मान्छे छैनन् गाउँमा सहर! ओए सहर! ढोका लाउँदा ठिकै होला तँलाई हेर्न बसाइँ पनि सर्ने मान्छे छैनन् गाउँमा अचेल यहाँ गाइको बिहे गोठालाको जन्ती हुन्छ नातागोता आफन्तजन पर्ने मान्छे छैनन् गाउँमा ढोकैमाथी मान्छे जस्तै तस्बिरहरु होलान् बरु पहिले जस्तै घर आँगन भर्ने मान्छे छैनन् गाउँमा ............ 6 June 2017 Bangalore

गजल (जाग्न पर्यो हजुर)

   .........  सुत्न पनि कति सक्छौ जाग्न पर्यो हजुर भकारी यहाँ रित्तिसक्यो माग्न पर्यो हजुर तल्लोघरे छिमेकीले हाँसीहाँसी छुरा धस्ला हिमाल भन्ज्याङ्ग उता बरु नाग्न पर्यो हजुर छानो थेग्ने खाँवो भए को बस्दै आफ्नो घरमा पासपोर्ट बोकी खाडी तिर भाग्न पर्यो हजुर दिन त सबकुछ दिनुभो हजुरका विचारमा पाएजस्तो हामीलाई पनि त लाग्न पर्यो हजुर .............. 8 June 2017 Bangalore

कविता "संवाद"

  संवाद              - मौसम   भुसाल ऊ जेल जत्तिकै पुरानो भैसक्यो। जेलका भित्ता भित्ताले उसलाई चिन्दछ भित्ता उसको साथी भैसक्यो र साइनो लगाइसक्यो छुट्दै नछुट्ने। अचेल सानो चरबाट बल्लबल्ल छिर्ने मधुरो किरणदेखि उसलाई डर लाग्छ अत्तालिन्छ बेस्सरी। भित्तो नजिकै गएर भन्छ "ए भित्तो तँलाई डर लाग्दैन?"

कविता: उध्रीएको टी-सर्ट

कविता:  उध्रीएको टी-सर्ट म सम्झन्छु त्यो बेला जब मेरो टी-सर्ट्को उध्रीएको काखीभित्र नसुहाउँदो गरिबी लुकेको थियो जब झनझन् उध्रीदै जान्थ्यो यस्तो लाग्थ्यो अब सबैले देख्नेछन् मेरो गरिबी संसारले लगाइदिने थियो मेरो मुस्कान माथी प्रश्न चिन्ह! आखिर मेरो देश पनि त गरीब छ छ सबथोक छ मेरो देशमा तर आज संसारले गरीब भन्नुको तात्पर्य निकालेँ मेरो देशको काखी फेदैबाट उध्रीएको छ प्राय: उधार्नै खोजिन्छ|

कविता बुझ्दैछु बुवा

कविता बुझ्दैछु बुवा झ्याउँकिरीले लोहोरी सुनाइरहेका बेला जुनकिरीहरु निदाइरहेका बेला मस्तिस्कको कुरुक्षेत्रमा दुनिँया आउँदो छ वचनका बन्दुकहरु लिएर यो चकमन्न रातमा आज बुझ्दै छु बुवा हजुरलाई निन्द्रा किन लाग्दैन हजुरलाई बल्लबल्ल लागेको निन्द्रामा घुरेको आवाज आउँदा  यस्तो लाग्थ्यो हिरोसिमा र नागासाकी अझै निदाएको छैन म सोच्थेँ हजुरका निधारमा सिङ्गै विश्व ज्वालामुखीको लाभा बनेर सल्याङ्बल्याङ गरिरहेको छ- आँखा मुनिका खोपिल्टा मानौँ सुनामीले बनाएका हुन् हजारौँ बर्ष अघिबाट मलाई लाग्छ हजुर सिङ्गो सभ्यता हो एउटा जीवित सभ्यता यहि अनिदो सभ्यताबाट बुझ्दैछु बुवा भुकम्प गएझैँ आमाको चोली तलब बुझेकै दिन हजुरका ज्यानबाट आउने फरक गन्ध ती मगर्नी बजैलाई भेट्न पाए भन्ने थिएँ "बजै! मलाई नि ख्वाम्नुस् न औषधि जसले मेरो बुवाको खाली खल्ति पनि हँसाउथ्यो" मैले बुझेको थिइन दिनभर अस्तित्व गुमाएकि बाटै छेउकि चमेली एक्लै किन बसाउँछे रातभर बिना सार यो आफैले आफैलाई हराउने सहरका चोकका अनेक थोक पल्टाउँदै बुझिरहेको छु बुवा बिरौटाको जुधाइमा पराजित ठुटे गोरुको लुते अनुहार...