Skip to main content

Posts

Showing posts from 2016

कविता: उध्रीएको टी-सर्ट

कविता:  उध्रीएको टी-सर्ट म सम्झन्छु त्यो बेला जब मेरो टी-सर्ट्को उध्रीएको काखीभित्र नसुहाउँदो गरिबी लुकेको थियो जब झनझन् उध्रीदै जान्थ्यो यस्तो लाग्थ्यो अब सबैले देख्नेछन् मेरो गरिबी संसारले लगाइदिने थियो मेरो मुस्कान माथी प्रश्न चिन्ह! आखिर मेरो देश पनि त गरीब छ छ सबथोक छ मेरो देशमा तर आज संसारले गरीब भन्नुको तात्पर्य निकालेँ मेरो देशको काखी फेदैबाट उध्रीएको छ प्राय: उधार्नै खोजिन्छ|

कविता बुझ्दैछु बुवा

कविता बुझ्दैछु बुवा झ्याउँकिरीले लोहोरी सुनाइरहेका बेला जुनकिरीहरु निदाइरहेका बेला मस्तिस्कको कुरुक्षेत्रमा दुनिँया आउँदो छ वचनका बन्दुकहरु लिएर यो चकमन्न रातमा आज बुझ्दै छु बुवा हजुरलाई निन्द्रा किन लाग्दैन हजुरलाई बल्लबल्ल लागेको निन्द्रामा घुरेको आवाज आउँदा  यस्तो लाग्थ्यो हिरोसिमा र नागासाकी अझै निदाएको छैन म सोच्थेँ हजुरका निधारमा सिङ्गै विश्व ज्वालामुखीको लाभा बनेर सल्याङ्बल्याङ गरिरहेको छ- आँखा मुनिका खोपिल्टा मानौँ सुनामीले बनाएका हुन् हजारौँ बर्ष अघिबाट मलाई लाग्छ हजुर सिङ्गो सभ्यता हो एउटा जीवित सभ्यता यहि अनिदो सभ्यताबाट बुझ्दैछु बुवा भुकम्प गएझैँ आमाको चोली तलब बुझेकै दिन हजुरका ज्यानबाट आउने फरक गन्ध ती मगर्नी बजैलाई भेट्न पाए भन्ने थिएँ "बजै! मलाई नि ख्वाम्नुस् न औषधि जसले मेरो बुवाको खाली खल्ति पनि हँसाउथ्यो" मैले बुझेको थिइन दिनभर अस्तित्व गुमाएकि बाटै छेउकि चमेली एक्लै किन बसाउँछे रातभर बिना सार यो आफैले आफैलाई हराउने सहरका चोकका अनेक थोक पल्टाउँदै बुझिरहेको छु बुवा बिरौटाको जुधाइमा पराजित ठुटे गोरुको लुते अनुहार...
गजल: ©मौसम भुसाल हेर कोहि पछि छुटेकी छुटेनन् सबैलाई खाजा भुटेकी भुटेनन् जस्तालाई तस्तै गर्नुपर्छ यहाँ चोरका घरमा लुटेकी लुटेनन् भनिदेउन कोहि हाम्री आमालाई दाजुभाइ सारा जुटेकी जुटेनन् पल्लो घरे कान्छो स्कुल जाँदैथ्यो छोरिलाई जामा खुटेकी खुटेनन् हिउँका टहरा, भोका प्यासी जनता बरफका डल्ला फुटेकी फुटेनन्
कविता म कोदालो म कोदालो जो बिहानै अनिँदैमा एक हुल खेतालाहरु पच्छ्याउँदै सुतिरहेको खेत कोपर्न पुग्छु आफ्नो ढाड फुस्किन्जेल सम्म दह्रा अटेरी बाँझा खेपिरहन्छु जसको बदलामा खेत सम्भावित हरियालीबाट सु-सज्जित बन्नेछ चुनौति दिँदै खडेरीलाई उम्रनेछ धानका बाला बाला सँगै छेउछाउमा देखिन्छन् आशका कुटिल गेडीहरु भरिनेछन् गरिबका भोका माना । म विवस भै हेरिरहेछु घरि बिगतका घानका बाला घरि आजका गाँजाका झोताहरु खेत त्यही हो मान्छे त्यही हो बाँझो कोपर्ने मैँ हो तर, समय बद्लियो रातारात भोक फेरियो समय सँगै हो,म बिवस भै हेरिरहेछु परिवर्तनका बिब्ल्याँटाहरु तुहिएका कुटिल गेडीहरु ए,मानिस! म थाकिसकेँ मलाई बरु छानोमा सिउरिदेउ कि त मल्खातमा पुरिदेउ म अन्न फलाउने नाउँमा भ्रष्टाचार  गर्न चाहान्न । -कवि मौसम भुसाल पर्वत,नेपाल
कविता: गाउँ बलेको छ बेलामा ढिब्रीको धिप्धिप उज्यालोमा म अक्षर नियाल्थेँ आखाको सिमाभित्र छामछुम गरी कोरकार गर्थें अभावका शब्द 'ब' बाट 'बिजुली' तर, उ कापीमा आउँथ्यो तर गाउँमा आएन । समयको तारतम्य अहिले सुनेको छु, ती ढिब्री अहिले झाडीमा भेटिन्छन रे! गाउँमा बिजुली पुगेछ छहाँदी खोला उज्यालिँदै बगेकी होली अझ गाउँमा गोबर ग्यास पुगेछ पारी वन अँध्यारिदी हो हाम्रो घरै मुन्तिरबाट हर्न घन्काउँदै मोटर गुड्छ रे मेरो यहाँ मन गुडेको छ मलाई  प्रचण्ड अँध्यारो बाट प्रचण्ड उज्यालोले तिर्मिराएको मेरो गाउँ हेर्ने मन छ शहर का घुम्तीका झिल्काहरुले पोलेको मन गाउँका घुम्तीले सुम्सुम्याउन मन छ कुन मुखले सुनाऊँ ? म बल्न आएँ शहरको उज्यालोमा निभाइदियो सारा सपना आज गाउँ बलिरहेका बेला म भित्रै देखि निभेको छु मलाई फेरि पनि बल्ने मन छ फेरि बौरिन मन छ उही गाउँकै उज्यालोमा उही गाउँकै काखमा उही गाउँकै आत्मियतामा । ©मौसम भुसाल पर्वत,नेपाल
कविता : पाठ:१ -मेरो सुखी परिवार साउनको झरी; सुनसान रातको छाडा झरी कसैलाई निन्द्रा लाग्ने झरी कसैको निन्द्रा खोस्ने झरी। चुहिएको छानो छानो मुनी गरीबको मानो पाक्ने सानो चुल्हो चुल्होमा बल्लबल्ल बलेको चिसो ठुटो चुल्है नेर छानोको पानीले टम्म सानो दिउरी तर, भात ढुकिरहेको खाली पेट पुर्पुरोमा हात लगाएर खिन्न मनले ठुटो ठोसिरहेकी एउटी आमा! हुरीले ढोका हल्लाउँदा पनि पुर्लुक्क हेर्छिन् घरि बाहिर घरि छोरो तिर अनि  बर्बराउँछिन् "तेरो बाउले मर्न नि दिन्न , बाच्न नि खै ? आज नि त्यतै त  धोक्दै होलान् पैलेको झरीले पारी खेत लग्यो यो झरीले यिनैलाई लगे नि हाइसुक्कै हुन्थ्यो" पिल्पिलिदै भुन्टे विचरा घरि भोको पेट मसार्छ घरि हँसियाले काटेको घाउ मसार्छ त्यो घाउ भन्दा गहिरो घाउ त दिनदिनै मसार्दो हो त्यो भोक भन्दा नि ठुलो भोक दिनदिनै खेप्दो हो मायाको भोक ! यही भोकले बल्झाएको घाउ! धिप्धिप गर्दै मधुरो बलिरहेको टुकी नजिकै जान्छ र अघिल्लो बर्षकै नयाँ किताब खोल्छ अनि बडो सकसले पढ्छ "पाठ:१- मेरो सुखी परिवार " ©मौसम भुसाल पर्वत
कविता नेपाल आमा नरुनु आमा, नरुनु दिदी सिउँदो पुछिए अतित बल्झी आउँछ आँसु माटोमा मुछिए धरती सेतो देखिन्छ जब ,मनमा रेटिन्छन् सिँदूर पोते लगाउ साडी पिडा त मेटिन्छन् मुटु त दह्रो पार ए दाजै ! मासु नै लुछिए अतित बल्झी आउछ आँसु माटोमा मुछिए हिमाल बाट बज्नेछ ताली तराइमा बज्दा धुन नबल्दा चुल्हो, मेरोमा खाऊ नेपाली हाम्रो खुन उचाल पूर्व पश्चिम म छु, नेपालै कुँजिए नेपाली भन्ने रहने छैन, म तिमी चुँडिए छिमेकी ढाडे छिर्नेछन् तब नेपाली कुँडेमा देशको माया, सद्भाव हाम्रो एकता चुँडेमा बोकेर सानो घरकै गाग्री पँधेरी धाउनेछ लेकको छोरो फाटमा झरी असारे गाउनेछ । ©मौसम भुसाल