Skip to main content
कविता

             म वीरमान!

©मौसम भुसाल

म वीरमान
जुन नामको पछाडि
अंकुशझैँ अड्किएको छ अर्को नाम
जसले गर्दा
म नागबेलि झैँ बेरिएको छु
जताततै बाट घेरिएको छु,
युगले कोल्टो फेर्दा पनि
न'उदाएको घाम
जुन घामको पर्खाइमा
निरंकुश रात संगै झुन्डिरह्यो
मेरो नामको पछाडिको अर्को नाम!

यस्तो लाग्छ
नीति मेरा लागि लेखिदैन
रिति मेरा लागि बनाइँदैन
हे कानुन!
सक्छस् त तँ डिल र पिँढी जोड्न?
सक्छस् भने ठुन्काइदे
सदियौँ देखि म जस्ता अचाना माथी
रगडिँदा रगडिँदा
नबोदिएको खुकुरि

म त दिउसै अँधेरो पाउँछु
म त छुट्टै पँधेरो धाउँछु
मुल बाटो अपरिचित छ
दुई छाक आटोको सट्टा
निल्नै नसकिने फाटोले
बुझो लाइदिन्छ
र,
फटाइदिन्छ सारा सपना !

मन्दिर बाहिरै मेरा पाइला अड्किन्छन्
पँधेरी नपुग्दै गाग्री भरिन्छ
किनकी,
एक हुल मानिसका पाषाण आँखामा
लेखिएको हुन्छ
प्रवेष निषेध!

हे शोसक,
नजाउँला म तिम्रो  मन्दिर
तर, मैले कुँदेको भगवान
तिमिले पुज्नु हुँदैन

नहिँडुला म तिमि हिँडेको बाटो
तर,मैले ओसारेको ढुंगा टेक्नुहुँदैन
नटेकुँला म तिम्रो पधेँरी
तर, मैले खनेको कुवा उभाउन पाउने छैनौ
वाचा गर मैले सिलाएको लाउने छैनौ |

हैन भने
कतिन्जेल  म
यो नियति सबेर बाँचु।
म तिनीहरूलाई मेरा सन्तानले
सुली चढाएको हेर्न चाहान्न
किनकि
मेरा फाटोका टालोहरूमा
ध्वाँसो लागेका हातहरूमा
सिमलको भुवा जस्तो
हलुका मन छ.......

समयले कुन्नी कहाँ थेचार्यो मलाई
मृग झैँ यता र उता
बिना सित्तै भौतारिनु पर्छ
उही नाम सम्याउन
यसरि कि मेरो नाम पछडिको अर्को नाम
तिमिले जस्तै सजिलै भन्न सकूँ|

     -मौसम भुसाल
    कावासोती नवलपरासि
हाल: सामाखुसी ,काठमाडौं

Comments

Popular posts from this blog

कविता बुझ्दैछु बुवा

कविता बुझ्दैछु बुवा झ्याउँकिरीले लोहोरी सुनाइरहेका बेला जुनकिरीहरु निदाइरहेका बेला मस्तिस्कको कुरुक्षेत्रमा दुनिँया आउँदो छ वचनका बन्दुकहरु लिएर यो चकमन्न रातमा आज बुझ्दै छु बुवा हजुरलाई निन्द्रा किन लाग्दैन हजुरलाई बल्लबल्ल लागेको निन्द्रामा घुरेको आवाज आउँदा  यस्तो लाग्थ्यो हिरोसिमा र नागासाकी अझै निदाएको छैन म सोच्थेँ हजुरका निधारमा सिङ्गै विश्व ज्वालामुखीको लाभा बनेर सल्याङ्बल्याङ गरिरहेको छ- आँखा मुनिका खोपिल्टा मानौँ सुनामीले बनाएका हुन् हजारौँ बर्ष अघिबाट मलाई लाग्छ हजुर सिङ्गो सभ्यता हो एउटा जीवित सभ्यता यहि अनिदो सभ्यताबाट बुझ्दैछु बुवा भुकम्प गएझैँ आमाको चोली तलब बुझेकै दिन हजुरका ज्यानबाट आउने फरक गन्ध ती मगर्नी बजैलाई भेट्न पाए भन्ने थिएँ "बजै! मलाई नि ख्वाम्नुस् न औषधि जसले मेरो बुवाको खाली खल्ति पनि हँसाउथ्यो" मैले बुझेको थिइन दिनभर अस्तित्व गुमाएकि बाटै छेउकि चमेली एक्लै किन बसाउँछे रातभर बिना सार यो आफैले आफैलाई हराउने सहरका चोकका अनेक थोक पल्टाउँदै बुझिरहेको छु बुवा बिरौटाको जुधाइमा पराजित ठुटे गोरुको लुते अनुहार...

गजल (जाग्न पर्यो हजुर)

   .........  सुत्न पनि कति सक्छौ जाग्न पर्यो हजुर भकारी यहाँ रित्तिसक्यो माग्न पर्यो हजुर तल्लोघरे छिमेकीले हाँसीहाँसी छुरा धस्ला हिमाल भन्ज्याङ्ग उता बरु नाग्न पर्यो हजुर छानो थेग्ने खाँवो भए को बस्दै आफ्नो घरमा पासपोर्ट बोकी खाडी तिर भाग्न पर्यो हजुर दिन त सबकुछ दिनुभो हजुरका विचारमा पाएजस्तो हामीलाई पनि त लाग्न पर्यो हजुर .............. 8 June 2017 Bangalore

गजल (मान्छे छैनन् गाउँमा)

गजल ........... बाँझै रह्यो खेतबारी, गर्ने मान्छे छैनन् गाउँमा मलामीको कुरै छोडौँ मर्ने मान्छे छैनन् गाउँमा सहर! ओए सहर! ढोका लाउँदा ठिकै होला तँलाई हेर्न बसाइँ पनि सर्ने मान्छे छैनन् गाउँमा अचेल यहाँ गाइको बिहे गोठालाको जन्ती हुन्छ नातागोता आफन्तजन पर्ने मान्छे छैनन् गाउँमा ढोकैमाथी मान्छे जस्तै तस्बिरहरु होलान् बरु पहिले जस्तै घर आँगन भर्ने मान्छे छैनन् गाउँमा ............ 6 June 2017 Bangalore